शनिबार, बैशाख ०८, २०८१

चीनले भन्यो अमेरिकी गतिविधिबाट बहुपक्षीय व्यापारिक नियमको उल्लङ्घन

एजेन्सी । अमेरिकाले चीनबाट अमेरिकातर्फ निर्यात गर्ने दुई खर्ब अमेरिकी डलरका सामानमाथि २५ प्रतिशत भन्सार कर लिन शुरू गरेको र यसले बहुपक्षीय व्यापारिक नियमको गम्भीर उल्लङ्घन भएको चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्का प्रमुख काउ यानले बताएका छन् ।

अमेरिकी कर वृद्धिको निर्णयका कारण चिनियाँ उद्योग–व्यवसायमाथि दवाव थपेको चीनको दावी रहेको छ । चिनियाँ व्यापार प्रवद्र्धन परिषद्का प्रमुख यानले हालै चीन–अमेरिका व्यापारिक द्वन्द्वबाट यी दुई मुलुक र विश्व अर्थतन्त्रमा पर्ने असरबारे पत्रकारलाई जानकारी दिएका हुन् ।

काउ यानले अमेरिकाको आर्थिक एकाधिकारवादी सोचका कारण चीन–अमेरिका आर्थिक तथा व्यापारिक छलफल गम्भीर रुपमा अवरूद्ध भएको बताउँदै बहुपक्षीय व्यापार नियमको गम्भीर उल्लङ्घन र विश्व व्यवसाय तथा आपूर्ति श्रृंखलाको सुरक्षामा गम्भीर त्रास थपेको कुरा बताए ।

साथै उनले अमेरिकाको ‘व्यापारिक संरक्षणवाद’ले चीनको अर्थतन्त्र राम्रो दिशातर्फ विकास हुने प्रवृत्तिमा अवरोध गर्न नसक्ने भन्दै चीनको सुधारलाई अगाडि बढाउने र खुलापनलाई विस्तार गर्ने दिशा परिवर्तन गर्न नसक्ने कुरामा पनि जोड दिए ।