काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने स्पोर्टस् अवार्डको १६ औं संस्करण असार तेस्रो साता आयोजना हुने भएको छ । मञ्चले आज पत्रकार सम्मेलन गर्दै अवार्ड आगामी असार १७ गते हुने जानकारी गराएको हो ।
काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छन् । यस वर्ष एक नयाँ विधा थप गरिएको छ ।
यस पटक वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।
यस्तै थप गरिएको विधामा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ । वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिने छ । मञ्चले ती विधामा खेलाडीको मनोनयन छिटै सार्वजनिक गर्ने जनाएको छ ।
वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।

