शुक्रबार, बैशाख ०७, २०८१

काठमाडौंको दुई स्थानमा बम विष्फोट,३ जनाको मृत्यु

काठमाडौं । काठमाडौको सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । आइतबार दिउँसो भएका दुबै बिस्फोट बम भएको प्रहरीले पुष्टी गरेको छ । सुकेधारामा २ जनाको र घट्टेकुलोमा १ जनाको ज्यान गयो

काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानबाट दुबै स्थानमा सिलिण्डर बम पड्केको देखिएको छ। ‘हामीले घट्टेकुलोको घटनास्थलबाट विप्लव माओवादीका पर्चा भेटिएका छन्। त्यहाँ घाइते भएका एक जना विप्लवका विद्यार्थी नेता भएको खुलेको छ,’ उनले भने।
घटनामा घाइते भएका रविन केसी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष हुन्।
विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ । त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
यसअघि विप्लवले जेठ ८ गते निकालेको विज्ञप्तिमा केपी ओली सरकारले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई भोजपुरमा हत्या गरेको भन्दै विप्लवले बदला लिने चेतावनी दिएका थिए ।