काठमाडौं । गृह जिल्ला काभ्रे पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले कुनै चिजको चोरी,डकैती र भ्रष्टाचार नगरेको बताउँदै चौकीदार बन्नु नै राम्रो भएको बताएका छन् ।
मन्त्री बाँस्कोटाले आफूलाई कसैले चौकीदार भन्ने गरेको र कसैले हुलिया खोजेको प्रसँग उठाउँदै सो कुरा बताएका हुन ।
पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको प्रेस जगतले चर्को आलोचना गरिरहेको छ भने मन्त्री बाँस्कोटाले त्यसको प्रतिरक्षा गर्दै आएका छन्।
शनिबार बनेपामा आयोजित डाँडापारी सन्देश साप्ताहिकको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले राखेको सो भनाइ विशेषतः उनको चर्को आलोचना गरेका वरिष्ठ अधिवक्ता शम्भु थापा प्रति लक्षित थियो ।
गत साता वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आलोचना गरेका थिए।
सो क्रममा उनले मिडिया काउन्सिल विधेयकको प्रतिरक्षा गरिरहेका बाँस्कोटाको व्यवहारमा थापाले प्रश्न उठाएका थिए।
‘गोकुल बाँस्कोटाको हुलिया अनुसार बोलेको मिल्छ’, थापाले भनेका थिए, ‘गोकुल बाँस्कोटालाई हामीले चिनेको छैन? अहिले हुलिया हेर्नुहोस् त बोलेको हेर्नुहोस् त नेपाली जनतासँग डिल गर्दै हुनुहुन्छ कि हामी त एउटा गए गुज्रेको दासलाई भनेको जस्तो भन्नुहुन्छ।’
यसैगरी उनले बाँस्कोटाको रवैया हेरेर आगामी चुनावमा भोट नदिनुस् भन्न मन लाग्ने बताएका थिए।

