मङ्गलबार, बैशाख १५, २०८३

तातोपानी नाकाको गृहमन्त्रीद्धारा स्थलगत निरीक्षण,संचालनमा ल्याउने तीव्र तयारी

सिन्धुपाल्चोक । गृहमन्त्री रामबहादुर थापाले संचालनको तयारीमा रहेको तातोपानी नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ । आगामी सातादेखि नाका संचालनमा ल्याउने तीव्र तयारी भइरहँदा मन्त्री थापाले सीमाक्षेत्रको सडक, पूर्वाधारसँगै सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण र अवलोकन गर्नुभएको हो । सीमा नाकाको निरीक्षण गर्दै गृहमन्त्री थापाले सीमाक्षेत्रमा कुनैपनि अवाञ्छनिय गतिविधि हुन नदिन स्थानीय सुरक्षा संयन्त्र र स्थानीय सरकारका प्रतिनीधिहरुलाई निर्देशन समेत दिनुभयो ।

आगामी सातादेखि तातोपानी नाका संचालनमा आउने भन्दै मन्त्री थापाले सीमाक्षेत्रमा अवाञ्छनिय गतिविधि र क्रियाकलाप हुन नहुने बताउनुभयो । सीमाक्षेत्रको सुरक्षा संवेदनशीलताकै कारण तातोपानी नाका संचालनमा ढिलाई भएको भन्दै उहाँले चीनको राष्ट्रिय सुरक्षामा नेपालले सघाउनुपर्नेमा जोड दिनुभयो । ‘तातोपानी नाका हिजो तस्करीका कारण बद्नाम थियो, अवाञ्छनिय गतिविधि पनि भए होलान्’, मन्त्री थापाले भन्नुभयो, ‘चार वर्ष बन्द भएर यो नाका अब खुल्दैछ, कुनैपनि खालका अवाञ्छनिय गतिविधि हुन नदिनुस् ।’

मुलुकमा भ्रष्टाचार र तस्करी धन्दाले जरो गाढीरहेको तर्फ इंगित गर्दै उहाँले तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेमा विकास र समृद्धिको सपना पुरा नहुने बताउनुभयो । नाकाको स्थलगत निरीक्षणमा आउनुभएका सांसद अग्निप्रसाद सापकोटाले सीमाक्षेत्रमा कुनैपनि गैरकानुनी क्रियाकलाप हुन नदिने बताउनुभयो ।