मङ्गलबार, बैशाख १५, २०८३

विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुन्छ : अध्यक्ष आचार्य

काठमाडौं । प्रेस स्वतन्त्रता विरोध गर्नेहरुलाई पत्रकार महासंघको आगामी नेतृत्वमा ल्याउन नहुने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।

प्रेस स्वतन्त्रताकै विरोध गर्नेहरु महासंघको नेतृत्वमा पुगे भने प्रेस र अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्ने भएकाले त्यस्ता व्यक्तिहरुलाई महासंघको नेतृत्वमा ल्याउन नहुने आचार्यको भनाइ छ ।
शनिबार नयाँ बानेश्वरमा सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष आचार्यले भने, ‘अहिले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा जो–जो लाग्दैनन् र विरोध गर्छन्, तिनलाई पत्रकार महासंघमा आगामी दिनमा कुनै पनि नेतृत्वमा ल्याउनुहुँदैन ।आचार्यले प्रतिप्रश्न गर्दै भने, ‘त्यस्ता पात्रहरु, अभिव्यक्ति स्वतन्त्रताका विरोधीहरु पत्रकार महासंघको नेतृत्वमा आए भने पत्रकार महासंघ कस्तो होला ?

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने आचार्यले दाबी गरे ।
कार्यक्रममा बोल्दै आचार्यले भने, ‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन हार्ने आन्दोलन होइन । केही समय बाधा व्यवधानहरु आउलान्, तर, हार्ने आन्दोलन, हार्ने इस्यु हामीले उठाएकै छैन । हामी जित्छौं । जसले यस्ताखालका कानूनहरु ल्याउँछन्, तिनीहरुचाहिँ हार्छन् । इतिहासले यही भन्छ ।’

पत्रकार महासंघले अहिले थालेको आन्दोलन सर्वसम्मत रुपमा अगाडि बढेको र यसमा महासंघ एक ढिक्का रहेको आचार्यले बताए । महासंघका कुनै पनि जिल्ला समितिहरुले आन्दोलनमा जानु हुँदैन नभनेको बताउँदै आचार्यले काठमाडौंमा भन्दा बाहिरी जिल्लाहरुमा बढी पत्रकारको सहभागितामा आन्दोलन भइरहेको जानकारी दिए ।

सरकारले संसदमा विधेयक दर्दा गर्नु अगाडि नै आफूहरुले लिखित रुपमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको आचार्यले जानकारी दिए । उनले भने, ‘संसदमा विधेयक लैजानुभन्दा पहिले नै लिखित रुपमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र दिएर सरोकारवालासँग छलफल गर्न माग गरेका थियौं । तर, छलफल नगरी २६ गते संसदमा लगियो ।’

नेपाल पत्रकार महासंघले नागरिक अगुवा एवं मानवअधिकारकर्मीहरुसँग पनि छलफल गरेको आचार्यले बताए । विभिन्न पेशागत संगठनले पत्रकारको आन्दोलनमा ऐक्यवद्धता जनाएको बताउँदै आचार्यले भने, ‘०६२÷०६३ को जनआन्दोलनमा भूमिका खेलेका नागरिक समाजका अगुवा र मानवअधिकारर्मीको पनि हामीलाई समर्थन छ । सडकमै जानुपर्यो भने पनि अब हामी एक्लै हुँदैनौं ।

मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा यतिबेला नेपाल पत्रकार महासंघ दोस्रो चरणको आन्दोलनमा छ ।