काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणको व्यवस्थापनमा रातदिन खटिदै आएका छन् । जसको कारण एकपछि अर्को सफलता पनि प्राप्त गर्दै आएका छन् । घिसिङकै पहलमा अब भारतबाट बिजुली खरिद गर्ने मात्र होइन बिक्री गर्ने अवस्थामा पुर्याएका छन् ।
नेपाल विद्युत प्राधिकरणले यहि वर्षातदेखि २०० मेगावाट विद्युत भारत निर्यात गर्ने भएको छ । अहिले रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढि हुने करिब २०० मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा पुगेको हो ।
प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी ३ बाट ७४ मेगावाट विद्युत थपिदै छ। त्यसैगरी निजी क्षेत्रका आयोजनाबाट ४० मेगावाट विद्युत थपिइसकेको छ । घिसिङले वर्षातमा सबै आयोजना पूर्ण क्षमतामा चलेमा एक हजार एक सय मेगावाटभन्दा बढि विद्युत उत्पादन हुने र रातको सयमा ९०० मेगावाट हाराहारी मात्रै विद्युत खपत हुने हुँदा २०० मेगावाट विद्युत निर्यात गर्ने सकिने बताए । उनका अनुसार अहिले पिक समयमा एक हजार एक सय ९५ मेगावाट विद्युत माग छ । नेपालले भारतबाट अहिले पिक समयमा ४७२ मेगावाटसम्म विद्युत आयात गरिरहेको छ ।
अहिले नेपालले भारतबाट औसत ३०० मेगावाट विद्युत आयात गरिरहेको छ । साँझको एक घण्टा मात्रै साढे पाँच सय मेगावाट विद्युत आयात गरिरहेको छ । अन्य समयमा २०० मेगावाट मात्रै विद्युत आयात भइरहेको प्राधिकरणको दावी छ ।
घिसिङले आगामी वर्ष ५० बढी आयोजनाबाट करिब एक हजार तीन सय मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु, ४२.५ मेगावाटको साञ्जेन लगायतका आयोजना र यो वर्ष विद्युत उत्पादन गर्न नसकेका १२० मेगावाटका ९ आयोजना समेत गरी एक हजार दुई सय ७० मेगावाट विद्युत उत्पादन हुने प्राधिकरणको प्रक्षेपण छ ।

