मङ्गलबार, बैशाख १५, २०८३

सुमार्गीको स्वामित्वमा रहेको ४ अर्ब ३१ करोड ९५ लाख कर तिर्न अस्वीकार

काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ कर पुँजीगत लाभ कर तिर्नु पर्ने भएको छ ।

सुमार्गीले नेपाल स्याटेलाइट टेलिकमको सेयर टेलिया सोनेरालाई बिक्री गर्दा पूँजीगत लाभ वापतको कर छलेका थिए । ७ वर्ष अघिको कारोबारलाई आन्तरिक राजश्व विभागले हाल अन्तिम कर निर्धारण गरेर सूचना जारी गरेको हो । अन्तिम कर निर्धारण गरेर रकम भुक्तानी गर्न आग्रह गर्दै कार्यालयले इमेल र हुलाकमार्फत पत्राचार गर्दा कम्पनीले पत्र बुभफ्न अस्वीकार गरेको आन्तरिक राजस्व कार्यालय बानेश्वरले जनाएको छ ।

हाल स्याटेलाइट टेलिकम कम्पनीले ‘हेल्लो नेपाल’ नामक मोबाइल सेवा दिइरहेको छ । यो कम्पनीको ७५ प्रतिशत स्वामित्व टेलियासोनेराले ५ अर्ब ७१ करोड रुपैयाँमा किन्दा पुँजीगत लाभकर छलिएको थियो ।

त्यसपछि टेलियाले मेसियन कम्पनी एजियटालाई एनसेल बेच्दा पनि सो घटना दोहोरिएको थियो, जुनसम्बन्धी मुद्दा हाल पनि सर्बोच्चमा विचाराधीन छ ।

आयकर ऐन अनुसार कारोबारको २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था अनुरुप गएको ११ वैशाखमा आन्तरिक राजस्व कार्यालयले अन्तिम कर निर्धारण गरेको थियो । १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ लाभ कर निर्धारण भएकोमा ब्याज र हर्जना समेत जोड्दा ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।