शनिबार, बैशाख ०८, २०८१

ठेकदारको एकाधिकार नतोडे जनताले देख्ने गरी प्रगति आउन कठिन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकदारलाई ठीक ठाउँमा राख्न सरकारलाई आग्रह गरेका छन् ।

नुवाकोटमा शनिबार आयोजित कार्यक्रममा वक्ताहरुले सडकलाई आफ्नो घरवेटीसँग जोडेपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरे ।
‘म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । त्यति जोड गर्नुपर्ने विषय महसुस हुँदैन,’ उनले भनेका छन्, ‘मैले सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन । म गएपछि ठेक्का पाएको पनि होइन । मसँग कुनै सरोकारको विषय होइन ।

जनतालाई अपठ्यारो परेको भन्दै उनले कडा कदम चालेर ठेकदारलाई ठीक गाउँमा राख्न सरकारलाई आग्रह गरे । ठेकदारहरुले मोबिलाइजेसन लिएर जग्गामा लगानी गर्ने र लाखौं कमाउने गरेको उनले बताए ।

६/७ वटा ठेकदारको एकाधिकार रहेको भन्दै उनले भने, ‘ठेक्का हात पार्न कुन नेतालाई के गर्नुपर्छ, कर्मचारीलाई के गर्नुपर्छ भन्ने थाहा भइसकेको छ । साथै आफ्नो जोडबलमा खरिद ऐन र ठेक्का प्रणाली सुधार गर्ने योजना सरकारको नीति तथा कार्यक्रममा परेको नेकपा अध्यक्ष प्रचण्डले दाबी गरेका छन् ।

ठेकदारको एकाधिकार नतोडे जनताले देख्ने गरी प्रगति र समृद्धि आउन कठिन रहेको बताए ।