शुक्रबार, बैशाख ०७, २०८१

मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु

एजेन्सी । श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै हिंसात्मक घटना बढेर गएका छन् । मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु लगाइएको छ ।

धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको छ । धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार गरिएको छ । यद्यपि यस हिंसामा कोही हताहत भएको खबर छैन ।

श्रीलंकामा इस्टर सन्डेको बेला चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएको थियो । यो आत्मघाती हमलाबाट २५० भन्दा बढीको मृत्यु भएको थियो । यो घटनापछि श्रीलंकामा तनावको वातावरण कायमै छ । यद्यपि यसअघि श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेका थिए । त्यसको केही दिनपछि नै हिंसात्मक घटना बढेका हो ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले शान्ति कायम राख्न अपिल गरेका छन् र ताजा हिंसाका कारण श्रृंखलावद्ध आक्रमणको अनुसन्धान प्रभावित भएको बताएका छन् । स्थिति नियन्त्रणमा लिन रातिको बेला कर्फ्यू लगाइएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सुरक्षाकर्मीले उत्तरपश्चिमी शहर किनियाको एक तलाउ नजिकै हतियारको खोजीका लागि सर्च अभियान चलाएका थिए । प्रदर्शनकारीले भने सो तलाउ नजिकैको मस्जिदमा पनि खानतलासी गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।