Nepali date


बुधबार, साउन १, २०७६

एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक नाफा ३ अर्ब २२ करोड

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५–७६ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १४८ प्रतिशत (रु.१ अर्ब ९२ करोड) ले वृद्धि गरी रु.३ अर्ब २२ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसैगरी, खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १४५ प्रतिशत (रु. १ अर्ब ३५ करोड) को वृद्धि सहित रु. २ अर्ब २७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको नायव प्रमुख सूचना अधिकृत अर्जुन राजखनियाले जानकारी दिएका छन् ।

गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ९३ करोड रहेको थियो । बैंकले यस आर्थिक वर्षमा ३३.५ प्रतिशत (रु. ५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रु. ७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार रु.२२८ अर्ब १९ करोड पुर्‍याउन सफल भएको छ ।
जस अन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशत (रु. २९ अर्ब ) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशत (रु. ४० अर्ब ५३ करोड) को वृद्धि गरी रु. १४९ अर्ब ५० करोड र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (रु. २६ अर्ब ८७ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ४४ अर्ब ३७ करोड) को वृद्धि गरी रु.१७८ अर्ब ९ करोड पु¥याउन सफल भएको छ ।

यसरी निक्षेप तथा कर्जामा बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शीर्ष स्थानमा रहेको दाबी गरेको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १२४ प्रतिशतले वृद्धि गरी रु. ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पुर्‍याउन सफल भएको राजखनियाले बताए ।

बैंकले देशभर रहेका २८३ शाखा कार्यालय, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १६ लाख रहेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया