मङ्गलबार, बैशाख १५, २०८३

काठमाडौंमा केही वर्षभित्रै रेल आउने नेकपा अध्यक्ष प्रचण्डको दावी

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चीनको ल्हासाबाट केही वर्षभित्रै रेल काठमाडौं आउने दावी गरेका छन् । उक्त रेललाई लुम्बिनी र पोखरासम्म पुर्‍याउने उनले बताए ।

सोमबारराष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदारहँदै रेल आउने भइनैसकेको छ ।

ल्हासाबाट काठमाडौं रेल ल्याउने कुरा सुरुमा सपना जस्तो लागे पनि अब त्यो विपनामा परिणत हुन लागेको उनले बताए । आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको जानकारी दिँदै प्रचण्डले अहिले त्यो सपना साकार हुन लागेको बताए । ‘चीन भ्रमणमा जाँदा मैले त्यहाँका राष्ट्रपतिलाई भनेको थिएँ, ल्हासाबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेल लैजाने कुरा । यो सपना साकार पार्न हामीले मिलेर काम गर्नुपर्छ भनेको थिएँ । अहिले मलाई अब यो सपना रहेन । अब त्यो सपना विपनामा साकार हुँदैछ,’ प्रचण्डले भने । ल्हासाबाट रेल नेपाल आएमा पर्यटनको विकासको निम्ति र अर्थतन्त्रको विकासको निम्ति कोशेढुंगा हुने उनले विश्वास व्यक्त गरे ।

प्रचण्डले नेपालका शक्तिपीठहरु र नेपाल-भारतका शक्तिपीठहरुलाई पनि जोडेर सर्किट बनाउन सकिए धार्मिक पर्यटनको विकासमा क्रान्ति नै आउने दावी गरे ।