मङ्गलबार, बैशाख १५, २०८३

संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । उसले यो विधेयक फिर्ता लिन बाध्य बनाउने चेतावनी पनि दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धी सरकारले ल्याएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको बताउँदै संसद र सडक दुवै आन्दोलनबाट फिर्ता लिन बाध्य पार्ने चेतावनी दिए ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारले ल्याएको विधेयकको विरोधमा उत्रिएका पत्रकारहरुको आन्दोलनमा पूर्ण सहयोग रहने बताए । सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जग भएको उल्लेख गर्दै त्यसलाई हनन् गर्ने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सैह्य नहुने दोहोर्‍याए । जय नेपाल नभनेर के भन्‍ने? फरक प्रसंगमा सभापति देउवाले सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको ‘तत्कालीन राजा महेन्द्रले प्रयोग गरेको भाषा जय नेपाल किन प्रयोग गरेको ?’ भन्ने प्रश्न पागलपनको उपज भएको टिप्पणी गरे । ‘नेपालमा जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने ?’, देउवाले सञ्चारमन्त्री बास्कोटालाई प्रतिप्रश्न गर्दै सोधे ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका संविधान र कानुन विपरितका सबै गतिविधिविरुद्ध आफ्नो पार्टीले जनतालाई सचेत गराउने बताए ।