Nepali date


आइतवार, मंसिर २९, २०७६

नेकपामा जनवर्गीय संगठनको भागबण्डा टुंगो अन्तिम चरणमा,यस्तो छ तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी निकटका संगठन जनसंगठन र आवद्ध संगठनको भागबण्डा टुंगो अन्तिम तयारीमा छ ।
२४ वटा जनवर्गीय संगठनमध्ये १४ संगठनको नेतृत्व पूर्वएमाले र १० संगठनको नेतृत्वको पूर्वमाओवादी केन्द्रलाई दिइएको स्रोतको दावी छ ।

नेकपाका एक शीर्ष नेताका अनुसार पूर्वएमालेको भागमा युवा, मजदुर, मुस्लिम, सकुम्बासी, किसान, पेशागत महासंघ, मानवअधिकारलगायतका संगठनको नेतृत्व परेको छ । त्यस्तै, पत्रकार, विद्यार्थी, महिला, कानुन व्यवसायी, वुद्धिजीवीलगायतको नेतृत्व पूर्वमाओवादीको भागमा परेको स्रोतको दावी छ । बाँकी जातीयलगायत संगठनको नेतृत्व पनि एक दुई दिनमै टुंगो लाग्ने बताइएको छ ।

पोलिटब्युरो, जनसंगठन तथा आवद्ध संगठन र जिल्ला सदस्यसम्मको एकता प्रकृया आउँदो जेठ ३ गते सक्ने गरी शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सबै विषयमा सहमति जुटाउने र सहमतिको प्रस्ताव तयार पार्ने गरी महासचिव विष्णु पौडेल तयारीमा छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेर प्रस्ताव तयार पारिरहेका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली जेठ १ गते विदेश भ्रमणबाट स्वदेश फर्किने छन् । त्यसको भोलिपल्ट अर्थात् जेठ २ गते दुई अध्यक्ष बसेर महासचिवको प्रस्तावलाई टुंगो लगाउने स्रोतले जनायो । जेठ ३ गते पार्टी एकताले पूर्णता पाएको घोषणा गर्ने नेकपाको तयारी छ ।

यद्यपि, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भने छलफल भए पनि बाँडफाँड नभएको जनाएको छ । नेकपाका महासचिव विष्णु पौडेलले सहमति नजिक भए पनि सबै विषयको टुंगो दुई अध्यक्षको छलफलका आधारमा बैठक बसेर लगाइने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया