मङ्गलबार, बैशाख १५, २०८३

मिडिया विधेयक फिर्ता गर्न माग गर्दै पत्रकार महासंघले आन्दोलन गर्ने

काठमाडौं । पत्रकारलाई कस्ने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएपछि पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध गरेका छन् । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ ।

पत्रकारितामा दुई दशकभन्दा बढी बिताएका गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारमार्फत प्रेसलाई नियमन गर्ने ढंगले आएको विधेयक शुरुमै आलोचित बनेको छ । संसदमा आउन बाँकी रहेको आमसञ्चारसम्बन्धी छाता ऐनको विधेयकमा झन धेरै आपत्तिजनक प्रावधानहरु राखिएका छन् ।

कर्मचारीले मस्यौदा गरेको विधेयकलाई सञ्चार मन्त्रालय हुँदै कानुन र अर्थ मन्त्रालयबाट स्वीकृत भएर मन्त्रिपरिषदले पारित गरेको हो । गत बैशाख २ गते नै मन्त्रिपरिषदले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको थियो । यो विधेयक विहीबार प्रतिनिधिसभामा पेश भएको छ ।