बिहिबार, बैशाख १३, २०८१

शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन सत्तारूढ नेकपा विद्यार्थी संगठनको माग

काठमाडौं । सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी वजेटमा शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र वुझाउँदै उनीहरूले सो माग गरेका हुन् ।

सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा अनेरास्ववियू (क्रान्तिकारी ) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्य सहितको टोलीले कँडेललाई ज्ञापनपत्र बुझाए । विगतमा शिक्षामा १७ प्रतिशतसम्म बजेट विनियोजन भएकोमा अहिले घटेर १० प्रतिशत हाराहारी झरेको भन्दै विद्यार्थी संगठनहरुले सरकारले माध्यमिक तहसम्मको शिक्षा निशुल्क भनेको र नीति तथा कार्यक्रममा सार्वजनिक शिक्षा सुदृढिकरण दशक मनाउन लागेको सन्दर्भमा बजेट अत्यधिक बढाउनुपर्ने माग गरेका हुन् ।

‘साधारण धारको वर्तमान शिक्षालाई क्रमशः विस्थापित गर्दै प्राविधिक धार बढाउदै लगि दुबै शिक्षालाई आधाआधी हिस्सा ओगट्ने विन्दुमा पुर्‍याउनु नै उपयुक्र बाटो हो भन्ने हाम्रो ठम्याई छ’ ज्ञापनपत्रमा भनिएको छ ‘यस रोडम्यापका लागि शिक्षामा बजेटको प्रतिशतमा वृद्धि अनिवार्य शर्त हो ।’

शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेको अनेरास्ववियू (क्रान्तिकारी )का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।