मङ्गलबार, बैशाख १५, २०८३

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदै ,यस्तो छ तालिका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार बिहान प्रस्थान गर्दैछन् ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमण मूलतः पर्यटन प्रवद्र्धन र सांस्कृतिक आदानप्रदानमा केन्द्रित हुने जानकारी दिए ।
क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
भियतनामी प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज पनि आयोजना गर्ने कार्यक्रम रहेको छ । भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दुवै देशले द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ । भ्रमण पर्यटन र संस्कृतिमा केन्द्रित कम्बोडियाको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्नेछन् । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सङ्घीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वाचित पदाधिकारी, नेपाली राजदूतावास बैंककका पदाधिकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधि एवं सञ्चारकर्मी रहनेछन् ।

प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डल आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ । ज्ञवालीले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि पर्यटक सीधै लुम्बिनी ल्याउने गरी हवाई सम्झौता हुने विषयमा छलफल हुने पनि बताए ।