मङ्गलबार, बैशाख १५, २०८३

प्रदेश १ को स्थायी राजधानी विराटनगरकै लागि प्रदेशसभामा प्रस्ताव दर्ता

विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । दुई तिहाई बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।

नेकपा संसदीय दलको निर्णयअनुसार प्रस्ताव दर्ता भएको छ । राजधानी विराटनगर रहने तर, कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने नेकपा संसदीय दलको निर्णय छ ।

मुख्यमन्त्री शेरधन राईले सहमतिका लागि यस्तो प्रस्ताव आएको अघि सारिएको बताए । ‘कांग्रेसकै आग्रहमा बृहत विराट क्षेत्र हटाएका हौं,’ उनले भने, फरकफरक प्रस्ताव आएपछि नेकपाले जुन प्रस्ताव राखेको छ, त्यसमा सहमति हुन्छ । प्रदेशको स्थायी राजधानीबारे प्रदेशसभामा चार वटा प्रस्ताव दर्ता भएका छन्, जसमा धनकुटा र विराटनगर प्रदेश राजधानी हुनुपर्ने उल्लेख छ ।
सत्तारुढ नेकपाकै तीन सांसदले धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव राखेका छन् । संसदीय दलको निर्णय विपरित दर्ता भएको प्रस्तावको प्रस्तावक निरन राई तथा समर्थक इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ छन् ।

मुख्यमन्त्री राईले भने नेकपाका सांसदहरुलाई अराजक हुने छुट नभएको भन्दै कारबाही गर्ने चेतावनी दिए । प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ ।

प्रदेश १ मा नेकपाको दुई तिहाई बहुमत छ । मुख्यमन्त्री राईका अनुसार प्रदेशसभाको नामबारे अहिले कुनै प्रस्ताव दर्ता हुने छैन । सभामुखसँग परामर्शपछि यही वा अर्को अधिवेशनमा प्रस्ताव ल्याउने तय गरेको छ ।