मङ्गलबार, बैशाख १५, २०८३

प्रदेश १ सरकारको सम्पर्क राजधानी धनकुटालाई बनाउने निर्णय

विराटनगर । प्रदेश नम्बर १ सरकारले प्रदेशको सम्पर्क राजधानी धनकुटालाई बनाउने निर्णय गरेको छ । प्रदेशको नाम र राजधानी तोक्न नसकेको सरकारले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले यसअघि पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय रहने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मालिा तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

प्रदेश सरकारले धनकुटा, भोजपुर र संखुवासभा हेर्ने गरी धनकुटामा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्माण गरेको छ । यस्तै, बैठकले केन्द्र सरकारबाट पदस्थापन भएका आएका कर्मचारीहरुमध्ये आठौं तहसम्मका कर्मचारीलाई सम्बन्धित मन्त्रालयमा पठाउने र मन्त्रालयले व्यवस्थापना गर्ने निर्णय गरेको छ । बाँकी कर्मचारीको हकमा मुख्यमन्त्रीको कार्यालयले व्यवस्थापन गर्ने गरी कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधिलाई स्वीकृत गरेको छ ।

बैठकले रेवातीरमण भण्डारीको संयोजकत्वमा रहेको कानुन मस्यौदा निर्माण समितिको म्याद असारसम्म थप गरेको छ ।