जनकपुरधाम । प्रदेश २ को सरकार ढाल्नसक्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले मधेसको राजनीति तरंगित भएको छ ।
प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको फोरम नेपालका पुराना नेता अमर यादवको समूहलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रचण्डले प्रदेश २ को सरकार जनताको हितमा नभएको बताएका थिए । साथै यो बीचमा नै नेकपाको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था आउने सक्ने धारणा राखेका थिए ।
प्रदेश २ मा फोरम र राजपाको गठबन्धन सरकार छ । दुबै दलका नेताहरुले प्रचण्डको अभिव्यक्तिको आलोचना गरेका छन् । ‘प्रचण्डज्यूले दिएको अभिव्यक्ति निराधार हो’ प्रदेशका भौतिक योजना मन्त्री जितेन्द्र सोनलले भने, ‘जतिसुकै भनेपनि यो सरकारमा कुनै आँच आउँदैन । मज्जाले चल्छ ।
राजपाका महासचिव समेत रहेका सोनलले बहुमत पुर्याएर सरकार बनाउन प्रचण्डलाई चुनौति दिए । ‘सरकार सडकबाट नभई सदनबाट बन्छ’ उनले भने, ‘विधान, प्रकृयाले चल्छ । संविधानले दिएको अधिकारबाट चल्छ । बहुमतले चल्छ ।’
उनले प्रचण्डलाई प्रश्न गरे, ‘संविधानको कुन धाराअनुसार सरकार बनाउनुहुन्छ ? कि ३२ जनाले नै सरकार बनाउने हो ?
प्रदेशमा आफ्ना कार्यकर्तामा आएको विचलनलाई हेरेर प्रचण्डको अभिव्यक्ति आएको उनको दाबी छ । यसअघि नेकपाका नेता माधवकुमार नेपालले पनि यस्तै अभिव्यक्ति दिएको भन्दै उनले भने, ‘अहिले प्रचण्डले पनि कार्यकर्तामा आएको विचलनलाई बुझेका छन् । कार्यकार्तालाई धैर्यधारण गर्न यस्ता अभिव्यक्ति दिएका हुन् ।’
फोरम नेपालले पनि प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार भएको बताएको छ । फोरम नेपालको तर्फबाट प्रदेशमा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहले कसैले भाषण गर्दैमा सरकार परिवर्तन नहुने बताए ।

