ललितपुर । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई सोमबारदेखि प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ ।
गैरजिम्मेवारी अभिव्यक्ति दिएपछि विवादमा तानिएका क्याप्टेन लामालाई प्रवक्ताबाट हटाइएको पत्र निगमले सोमबार प्राधिकरणलाई पठाएको हो ।
‘क्याप्टेन लामा नागरिक उड्डयन नियम अनुसार जहाज उडाउन फिट देखिएनन्। उनलाई हामी पहिला कानुनको कक्षामा राख्दै छौं। त्यसपछपि पनि उनको गैरजिम्मेवारी अभिव्यक्ति सुनिएमा मेडिकल जाँच गराउने छौं।’ उनले आफैं तनावमा रहेको स्वीकार गरेकोले प्राधिकरणले उनलाई जाँच्नुपर्ने दायित्व रहेको ती अधिकारीले बताए।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पुस ३ गते तत्कालीन प्रवक्ता अशोक सिग्देललाई जिम्मेवारीबाट हटाइ क्याप्टेन लामालाई दिएका थिए। एक्टीभ पाइलटलाई प्रवक्ताको जिम्मेवारी दिँदा उडान सुरक्षामा असर पर्ने जनाउँदै त्यसताकादेखि नै प्राधिकरणले कार्यकारी अध्यक्षको निर्णयमा असन्तुष्टी जनाउँदै आएको थियो। यसैबीच निगमको कार्यकारी अध्यक्षको सचिवालयले लामालाई प्रवक्ताबाट हटाइएको जनाउँदै चाँडै अर्को निर्णय हुने जनाएको छ।
चैत १९ गते राति निगमको दुबई उडान रद्दबारे पाइलट लामाले एक अनलाइन टिभीलाई ‘आफ्नो मानसिक र शारिरीक अवस्था ठिक नभएको’ अभिव्यक्ति दिएपछि उनलाई प्राधिकरणमाहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो। उक्त पत्रबारे लामाले बुझाएको स्पष्टिकरण पत्र चित्तबुझ्दो नभएपछि आइतबार प्राधिकरणले लामालाई ग्राउन्डेड गरेको थियो। ‘विजय लामालाई प्रवक्ताबाट नहटाएसम्म जहाज उडाउन नदिनु’ भनेर पत्र पठाएका थियौं,’ ती अधिकारीले भने, ‘सोमबारै निगमले उनलाई प्रवक्ताबाट हटाएको पत्र प्राधिकरणमा पठाएको छ।
क्याप्टेन लामा नेपालको हवाई उड्डयन कानुनबारे जानकार नभएको प्राधिकरणले जनाएको छ।

