मङ्गलबार, बैशाख १५, २०८३

प्रदेश २ सरकार : २ हजार कर्मचारीलाई हाजिरकै भरमा तलव

जनकपुरधाम । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले कर्मचारी पठाउन असहयोग गरेको आरोप लगाइरहेको बेलामा दुई हजार कर्मचारी मुख्यमन्त्री कार्यालयमा नै थन्किएका छन् ।
संघीय सरकारले चैतको मध्यमा प्रदेश सरकारलाई २ हजार ४२२ कर्मचारी पठाए पनि हाल पदस्थापन गर्न नसक्दा कर्मचारी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा थन्किएका हुन्। हरबखत संघीय सरकारको खेदो खन्ने प्रदेश २ सरकारले समायोजन भएर आएका कर्मचारी महिना दिन वित्न लाग्दा समेत पदस्थापन गर्न सकेकाे छैन।तर उनीहरू मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट हाजिर बनाउँदै तलव खाएर दिन काट्न बाध्य भएको एक कर्मचारीले बताए। समान्य प्रशासन मन्त्रालयबाट प्रदेश २ मा पदस्थापनको लागि २ हजार ४२२ कर्मचारी नामावली सहितको पत्र मुख्यमन्त्री कार्यालयमा चैत महिनाको मध्य तिर पठाएको थियो।
जसमा अहिलेसम्म लेखा अधिकृत, शाखा अधिकृत, सह–लेखापालकाे मात्रै पदस्थापन गरिएकाे छ। नायब सुब्बा, सहायक वन अधिकृत, खरिदार, प्राविधिक तर्फका कर्मचारी, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता सयौं कर्मचारीको पदस्थापन भएको छैन । जस कारण संयौ कर्मचारी मुख्यमन्त्री कार्यालयमै हाजिर गरेर कामै नगरी तलब खाइरहेका छन् । शुक्रबार मुख्यमन्त्री कार्यालयमै हाजिरी गर्न आएका एक कर्मचारीले भने, ‘हामीलाई कतै पदस्थापन नगरेसम्म यसरी नै मुख्यमन्त्री कार्यालयमा आएर हाजिर गरी तलब खाने हो। यो हाम्रो रहर होइन। बाध्यता हो ।
प्रदेश सरकारले चाँडै पदस्थापन गरोस् । हामी काममा खट्छौं।’ एकातिर कर्मचारीको अभावमा कामकाज प्रभावित भइरहेको समयमा पदस्थापन नहुँदा कार्यालयमा दैनिक कार्यसम्पादनमा समस्या भइरहेको शहिदनगर नगरपालिकाका प्रम्ख उदयकुमार बरबरिया यादवले बताए। प्रदेश २ बाहेक अन्य सबै प्रदेशहरूमा कर्मचारी पदस्थापनको काम दचैत मसान्तमै भए पनि यहाँ हुन नसकेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका निमित प्रमुख सचिव कोमल खत्रीले जनाए। उनले भने, ‘कर्मचारी पदस्थापनको लागि मापदण्ड तयार गर्ने काम भइरहेकाले चाँडै पदस्थापन हुन्छ। मापदण्ड पूरा हुने बित्तिकै कर्मचारी पठाइहाल्छौं ।’ ७५ प्रतिशत कर्मचारीको रोजाई यातायात पदस्थापनको लागि बाँकी रहेको ९० प्रतिशत कर्मचारी मध्ये ७५ प्रतिशत कर्मचारीले यातायात व्यवस्था कार्यालय रोजेका छन्। यातायात व्यवस्था कार्यालय भ्रष्टाचार गर्ने प्रमुख सरकारी अडडा मध्ये भएक हो। त्यस्तै क्रमशः सडक डिभिजन, भौतिक पूर्वाधार कार्यालय कर्मचारीको बढी प्राथमिकतामा क्रममा छ ।
पदस्थापनामा रकमको चलखेल प्रदेश २ मा कर्मचारीको पदस्थापनामा मुख्य ढिलाइको प्रमुख कारक रकम र पावरको चलखेल रहेको बुुझिएको छ। कर्मचारीले बढी कमाइ हुने कार्यालयमा पदस्थापन हुन मन्त्री तथा पहुँच भएका सांसद र नेता कहाँ धाउने गरेका कारण पदस्थापनामा ढिलाई भइरहेको स्राेतको दाबी छ। यातायात, भौतिक पूर्वाधार र सडकमा जान कतिपय कर्मचारी लाखौं रकम दिन समेत तत्पर रहेको एक कर्मचारीले बताए। ती कर्मचारीले भने, ‘अन्य सबै प्रदेशमा कर्मचारी पदस्थापन भइसक्यो। यहाँ हामीले कहिले हाम्रो पदस्थापन हुन्छ। भनेर बाटो कुरेर बसेका छौं। ढिलाई हुनुमा रकम र पैसाको चलखेल भएको हाम्रो आशंका छ।’ यति मात्र नभई मन्त्री र नेताले आफ्ना निकटका कर्मचारीलाई राम्रो कमाइ हुने कार्यालयमा सेटिंङ गर्न समेत सिफारिस गरेकाले पनि पदस्थापनमा ढिलाइ भइरहेको मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीले बताए। यता मुख्यमन्त्री कार्यालयका निमित प्रमुख सचिव कोमल खत्रीले पदस्थापनमा पावर र रकमको चलखेल विषयमा आफूलाई केही थाहा नभएको बताए। तर प्रमुख सचिव दीपक कार्की अस्ट्रेलिया भ्रममा रहेको र मुख्यमन्त्री पनि विभिन्न कार्यक्रममा व्यस्त रहेकाले ढिलाई भएको उनको भनाई छ। यता प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की प्रदेश सांसद मन्जु यादवले समयमै कर्मचारीलाई पदस्थापन गर्न नसक्नु प्रदेश सरकारको असफलताको संकेत रहेको प्रतिक्रिया दिए । @thahakhabar