शनिबार, बैशाख ०८, २०८१

चार हजार भूकम्पपीडित बेपत्ताः घर निर्माण सीमा असारमा

विदुर । चार वर्षअघि भूकम्पका कारण नुवाकोट जिल्लामा ध्वस्त भएकामध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन सकेका छैनन् । भूकम्पबाट करीब ७७ हजार घर भत्किएका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म भूकम्पले क्षतिग्रस्त घरमध्ये ३९ प्रतिशत घर निर्माण हुन बाँकी छ ।

यहाँ ७६ हजार पाँच सय ५१ घरधुरी भूकम्पबाट प्रत्यक्ष प्रभावित भएका थिए । तीमध्ये ४४ हजार ८९ घर निर्माण सम्पन्न भइसकेको प्राधिकरण कार्यालयले जनाएको छ । लामो समय बितिसक्दा पनि पुनःनिर्माण ढिला हुनुमा विगतको कार्यसुस्तता भएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइका प्रमुख विकी लाखाले बताए । “विगतमा घर निर्माणमा अनेकौँ समस्याका कारण सुस्तता थियो तर अहिले मैले जिम्मेवारी लिएर आएपछि गरिएको सक्रियता र देखाएको तदारुकताले मात्रै यतिसम्म गति लिएको हो”, प्रमुख लाखाको जिकिर छ । “अब बाँकी निर्माण हुनुपर्ने घरहरु पनि द्रुत गतिमा सम्पन्न गर्न लागिपरेका छौँ ।”  लाभग्राही सूचीमा सूचीकृत भूकम्पपीडित घरपरिवारलाई निर्माण सम्पन्न भएपछि अन्तिम तेस्रो किस्ता अनुदान रु चार अर्ब ४० करोड ८९ लाख निकासा भइसकेको छ । यसैगरी पहिलो र दोस्रो किस्ता अनुदान लिएका घरपरिवार ८९ प्रतिशत अर्थात् ६४ हजार एक सय ७६ छन् । त्यसका लागि रु नौ अर्ब ६२ करोड ६४ लाख अनुदान सरकारले खर्चिसकेको छ । लाभग्राही घरधुरीमध्ये पहिलो किस्ता अनुदान लिएकाहरु ७१ हजार नौ सय ६३ अर्थात् ९४ प्रतिशत परिवार छन् । सोका लागि रु तीन अर्ब ५९ करोड ६८ लाख खर्च भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।भूकम्पपीडित चार हजार पाँच सय ८८ घरपरिवार पहिलो किस्ता अनुदानसमेत नलिई अहिलेसम्म सम्पर्कविहीन छन् ।

लाभग्राहीका रुपमा सम्पर्कमा नरहेकाहरु भूकम्पमा परी घर नभत्किएका, बस्नयोग्य एकभन्दा बढी घर भएका, एकाघरमै रहेर पनि भूकम्पपीडित लाभग्राहीको सूचीमा आफूलाई राखिएका र बस्नयोग्य घर भएर बनाउन आवश्यक नपरेकाहरु हुन सक्ने प्राधिकरण कार्यालयको अनुमान छ ।यसैगरी पहिलो किस्ता अनुदान लिएर दोस्रो किस्ता अनुदानका लागि अझैसम्म १२ हजार ३७५ परिवारले घर पुनःनिर्माणमा कुनै चासो देखाएका छैनन् । दोस्रो किस्ता लिएका तर तेस्रो किस्ता अनुदान पाउन बाँकी २० हजार ८७ लाभग्राही नागरिक छन् ।

“शायद यो सङ्ख्या घर निर्माण सम्पन्न गर्ने प्रक्रियामा रहिरहेकै कारण तेस्रो किस्ता अनुदानका लागि आउन बाँकी रहेको हो”, लाखाले बताए ।प्रमुख लाखाका अनुसार हालसम्म भूकम्पपीडित नागरिकका घर पुनःनिर्माणका लागि पहिलो, दोस्रो र अन्तिम अनुदान किस्ता गरी रु १७ अर्ब ६३ करोड २१ लाख खर्च भइसकेको छ । सरकारले दिएको अन्तिम घर निर्माण समयसीमा यसै वर्षको असार मसान्त छ । सोका लागि अब दुई महिना १८ दिन मात्र छ । अझै एक वर्ष पुनःनिर्माणको समय थपिन सक्नेमा भूकम्पपीडित ढुक्क छन् ।पुनःसर्वेक्षणप्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले अझै पनि केही सङ्ख्यामा घर भत्किएका भूकम्पपीडित छुटेको हुन सक्ने भएका कारण तिनको पुनःसर्वेक्षण थालिएको जनाएको छ । त्यसका लागि सम्बन्धित स्थानीय तहलाई नै जिम्मेवारी र अधिकार दिइएको नुवाकोट प्राधिकरण प्रमुख लाखाले बताए ।उनका अनुसार भूकम्प प्रभावित नागरिकको सहजीकरणका लागि प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यसहित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष सम्मिलित स्थानीयस्तरमा गठन भएको स्थानीय पुनःनिर्माण समन्वय समितिले सर्वेक्षणको काम गर्नेछ ।

नक्कली भूकम्पपीडितले गरे फिर्ता जिल्लामा भूकम्पपीडितका रुपमा लाभग्राही सूचीमा परेका तर घर नबनाउने दुई नक्कली भूकम्पपीडितले अनुदान फिर्ता गरेका छन् । घर बनाउन आवश्यक नरहेका र अनुदान लिएर पनि घर बनाउन नसकेका कारण पुनःनिर्माण प्राधिकरणको कार्यालयमा आई उक्त अनुदान रकम फिर्ता गरेका हुन् । सोबाहेक जिल्लामा धेरै सङ्ख्यामा घर नबनाउनेहरु हुन सक्ने प्रमुख लाखाको अनुमान छ ।२०० विद्यालय बनेनन्भूकम्पका कारण नुवाकोटमा क्षतिग्रस्त विद्यालयमध्ये ४५ प्रतिशत विद्यालयको मात्रै अहिलेसम्म पुनःनिर्माण सकिएको छ । जिल्लाभित्र सञ्चालनमा रहेका ४५३ सामुदायिक विद्यालयमध्ये २०५ विद्यालयको निर्माण सम्पन्न भएको जिल्ला कार्यान्वयन एकाइले जनाएको छ । एकाइका प्रमुख वीरेन्द्रजङ्ग थापाका अनुसार २३ विद्यालयको निर्माण अन्तिम चरणमा पुगेको, १७२ निर्माणाधीन रहेको, २४ विद्यालयको भवन निर्माण थालनी गरिएको र २९ भन्दा बढी विद्यालय पुनःनिर्माणको काम शुरुआत नै हुन सकेको छैन ।

जमुना गजुरेल/रासस