शनिबार, बैशाख ०८, २०८१

मेलमिलाप आयोगले बुझायो सरकारलाई प्रतिवेदन

काठमाडौं। द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्धकालीन न्याय निरुपणकासम्बन्धि आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री ढकाललाई बुझाइएको आयोगको प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरुको विवरण पनि उल्लेख गरिएको छ।

हाल पदाधिकारीविहिन रहेको सो आयोगको प्रतिवेदन निमित्त सचिव गोपिचन्द्र भट्टराई नेतृत्वको कर्मचारीहरुले मन्त्री ढकाललाई बुझाएका थिए। चैत्र मसान्तमा आयोगको पदाधिकारीको म्याद सकिनु अघि नै तयार पारिएको प्रतिवेदन सरकारलाई बुझाइएको निमित्त सचिव भट्टराईले जानकारी दिए।

यता, आयोगको प्रतिवेदन बुझेपछि मन्त्री ढकालले आयोगको काम कार्वाहीलाई प्रभावकारी बनाउन र त्यहाँ रहेका सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि डकुमेन्टहरुको सुरक्षाको उचित व्यवस्था गर्न आयोगका कर्मचारीहरुलाई निर्देशन दिएका थिए। आयोगका निमित्त सचिव भट्टराईले सत्य निरुपण तथा मेलमिलापको कामलाई जिम्मेवारीपूर्वक सम्पन्न गर्ने गरी काम गर्न मन्त्री ढकालले निर्देशन दिएको बताए।

सरकारले चैत्र मसान्तमा सकिएको आयोगको पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधिश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समितिनै गठन गरेको छ।

आयोगका निमित्त सचिव भट्टराईले सो समितिले सिफारिस गरेपछि सरकारले छिट्टै आयोगको पदाधिकारी नियुक्त गर्ने र आयोगको काम कार्वाहीले गति लिने विश्वास व्यक्त गरे।