शनिबार, बैशाख ०८, २०८१

एक कल फोन गर्न एक दिनको पैदल यात्रा हिड्नुपर्ने बाध्यता

बझाङ । बझाङको साईपाल गाउँपालिकामा फोन गर्नको लागि एक दिनको बाटो हिड्नु परेको छ । फोनको नेटवर्क प्रवाह गर्ने भिस्याट सेवा बिग्रिएपछि यहाँका स्थानीय एक दिन हिडेर फोन गर्न जानुपरेको हो ।

२०६६ सालमा नेपाल टेलिकम र तत्कालिन काँडा गाविसको लगानीमा जडान गरिएको भिस्याट सेवा बिग्रिएपछि स्थानीयलाई समस्या भएको हो । झण्डै तीन महिना अघिदेखि भिस्याट सेवा बिग्रिएको भिस्याट सेवा सञ्चालक गोरखबहादुर बोहराले जानकारी दिनुभयो ।

फोन सेवा बन्द भएसँगै गाउँपालिकाको ५ गाउँका २ हजारभन्दा बढी बासिन्दा प्रभावित भएका छन् । धुली, लौडी, न्युना, धलौन गाउँका बासिन्दाहरु एक दिनको बाटो हिडेर काँडाको बाँझचौकामा रहेको भिस्याटसम्म पुगि फोन गर्नुपरेको स्थानीयले बताएका छन् ।

फोन गर्नकै लागि एक दिनको बाटो हिड्नुपर्ने र भोली पल्टमात्र फर्कनु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । भिस्याट सेवा मर्मत गर्नका लागि सदरमुकामबाटै प्राविधिक बोलाउनु पर्ने भएकोले प्राविधिकहरु गाउँपालिकासम्म पुग्न नमान्दा स्थानीय बासिन्दा सम्पर्कविहिन हुनुपरेको भिस्याट सेवा प्रदायकको भनाई छ ।