मङ्गलबार, बैशाख १५, २०८३

बैशाख ११ मा राष्ट्रपतिले चीन भ्रमण गर्ने, परराष्ट्र मन्त्रीसहितका सदस्य भ्रमण टोलीमा

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीको वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण हुने भएको छ। चीनका राष्ट्रपति सी जिनपिङको निमान्त्रणमा भ्रमण गर्न थालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटन समारोहमा सहभागी हुनुका साथै त्यहाँ रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिसँगको द्विपक्षीय वार्तामा सहभागी हुनुका साथै वरिष्ठ चिनियाँ अधिकारीहरूसँग भेट गर्नेछन् । उनले बेइजिङमा आयोजना हुने नेपाली तथा चिनियाँ उद्योगीहरूको संयुक्त बैठकलाई पनि सम्बोधन गर्नेछिन्।

राष्ट्रपति भण्डारीले सान्ची प्रान्तको राजधानी सिनयान, चीनको स्वशासित क्षेत्र तिब्बतलगायतको भ्रमण गर्नु हुने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ। राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहनेछ। राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।