शुक्रबार, चैत १६, २०८०

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सद्वारा दिल्ली क्यापिटल्स पराजित

काठमाडौ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

हिजो भएको खेलमा मुम्बईले नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको दिल्लीलाई ४० रनले हराएको हो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन बनाए ।

मुम्बईविरुद्ध पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई खेलाएन । मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा मुम्बईले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

मुम्बईका लागि कुर्नाल पाण्डयाले अविजित ३७ रन जोड्दा क्विनटन डी ककले ३५ रन जोडे । यस्तै हार्दिक पाण्डयले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए । सुर्य कुमार यादबले २६ रन बनाए । दिल्लीका कागिसो राबडाले २ विकेट लिए ।

जितसंगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ९ खेलबाट १२ अंक जोडेको छ । पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । आईपिएलमा आज कोलकत्ता नाईट राईडर्स् र रोयल च्यालेन्जर बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।