काठमाडौं । समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी बिहीबार साधारण तारेखमा रिहा भएका छन् ।
साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
प्रेस काउन्सिलले लापरबाही गर्ने कर्मचारीमाथि कारबाही
प्रेस काउन्सिलको लापरबाहीले पोखराका पत्रकार अर्जुन गिरी अनाहकमा प्रहरी नियन्त्रणमा पुगेको भन्दै आलोचना भएपछि त्रुटि गर्ने कर्मचारीप्रति कारबाही प्रक्रिया थालिएको छ ।
बिहीबार अपरान्ह काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस विज्ञप्ति जारी गर्दै त्रुटिपूर्ण कार्यमा संलग्न कर्मचारीलाई तत्कालै स्पष्टिकरण सोधिएको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘टान्डव न्यूज डटकम काउन्सिलमा सूचीकरण भए/नभएको बारेमा विपेन्द्रराज बतासले जानकारी माग गरी निवेदन दिएकोमा सोको जानकारी दिँदा सूचीकरणको लागि प्राप्त निवेदनका आधारमा एकीकृत अभिलेखसिट तयार गर्दा कम्प्युटर टाइपमा त्रुटि भइ www.tandavnews.com हुनुपर्नेमा www.tandannews.com भएकोले फेला नपरेको कारण सूचीकरणका लागि प्राप्त नभएको भनी पत्राचार भएको हो ।
भुसालले त्रुटिमा संलग्न कर्मचारीमाथि स्पष्टिकरण सोध्दै कारबाही प्रक्रिया थालिएको उल्लेख गरेका छन् । तर, कर्मचारीबारे भने केही उल्लेख गरिएको छैन ।
वतासको निवेदनको जवाफ दिइएको पत्रमा भने अनुगमन अधिकृत सुरेन्द्र मल्लको हस्ताक्षर थियो । विज्ञप्तिमा भुसालले काउन्सिल पत्रकारलाई थुनाउने र दुःख दिने पक्षमा नरहेको पनि बताएका छन् ।

