मङ्गलबार, बैशाख १५, २०८३

लमजुङमा २० वर्षभन्दा कम उमेरमै आमा बन्ने किशोरी ३१ प्रतिशत

लमजुङ । नेपालको कानुनले २० बर्ष भन्दा कम उमेरमा विवाह गर्न नहुने भन्छ । तर लमजुङमा २० बर्ष मुनि नै आमा बन्नेहरु धेरै छन् ।

लमजुङका अस्पतालको तथ्याङ्कलाई हेर्दा ३१ प्रतिशत किशोरी २० बर्ष भन्दा कम उमेरमा नै आमा बन्ने गरेका छन् । यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा जोखिम बढाएको जिल्ला सामुदायिक अस्पतालका प्रशासकिय प्रमुख युवराज देवकोटा बताउनुहुन्छ ।

कलिलै उमेरमा विवाह गर्ने तथा परिवार नियोजनका अस्थाई साधनबारे पनि जानकारी नभएकाले सानैमा आमा बन्नेहरुको संख्या नघटेको जिल्ला जनस्वास्थ्य कार्यलयका तथ्याङक अधिकृत टेकनारायण लामिछानेको भनाइ छ ।

जिल्ला सामुदायिक अस्पताल लमजुङको तथ्याङ अनुसार गत आथिर्क बर्षमा सुत्केरी भएका १ हजार १ सय ९० जनामध्ये ३ सय ६३ जना २० बर्ष मुनिका छन् । यस्तै आर्थिक वर्ष २०७३/०७४ मा १ हजार २ सय २ मध्ये २० बर्ष मुनिका २ सय २५ जना किशोरी सुत्केरी भएका अस्पतालका नर्सिङ्ग प्रमुख राममायाँ ठकुरीले जानकारी दिनुभयो ।

अस्पतालको तथ्याङकले यो सङख्या देखाएपनि अस्पताल बाहिर सुत्केरी हुनेहरुको सङख्या दोब्बर रहेको स्वास्थ्यकर्मीहरु बताउछन् ।