मङ्गलबार, बैशाख १५, २०८३

विप्लवको बन्दमा देशभर के के भए ?

काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।

आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपाले नेपाल बन्द गरेको हो । सरकारले शान्तिपूर्ण गतिविधि गर्दा पनि रोक लगाएर द्वन्द्व निम्त्याएको भन्दै विरोधमा रुपमा बन्द गरेको नेकपाले जनाएको छ । बन्दका कारण देशभरको यातायात प्रभावित भएको छ ।

पूर्व–पश्चिम राजमार्गलगायत मुख्य राजमार्ग ठप्प रहेका छन् । देशका प्रमुख शहर प्रायः बन्द छन् । लामो दूरीका सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् ।
त्यस्तै, विद्यालय, कलकारखाना र बजार पनि बन्द रहेका छन् । देशका मुख्य शहरमा छिटफुट पसल खुलेका छन् । विप्लवका कार्यकर्ताले बिभिन्न स्थानमा सकेट बम राखेर जनजीवन त्रसित बनाएका छन् । बागलुङ सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ ।

बागलुङस्थित २३ नं. बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो । अन्य स्थानमा पनि नेपाल सेनाको टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि परिचालन गरिएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरे पनि काठमाडौँ उपत्यकामा भने न्युन प्रभाव मात्र परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवाली जानकारी दिनुभयो ।

विभिन्न जिल्लामा भने बन्दको प्रभाव देखिएको र ठाउँठाउँमा नक्कली बम, शङ्कास्पद वस्तु भेटिएको तथा गाडी तोडफोड र आगजनी भएको जानकारी आए पनि विस्तृत विवरण आइनसकेको नेपाल प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । बन्दले विभिन्न राजमार्ग भने सुनसान देखिएका छन् । जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा पारिएको उहाँले बताउनुभयो ।