चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले कृषि सङ्कायका सहायक डिनमाथि दुव्र्यवहार गर्ने ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझामाथि दुव्र्यवहार गरेका कृषि सङ्काय छैटौँ सेमेष्टरका विद्यार्थीलाई दुई महीनाका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालयका रजिष्टार प्रा डा मनराज कोलाक्ष्यपतिद्वारा हस्ताक्षर गरिएको सूचनामा निष्कासनमा पर्ने विद्यार्थीमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । यी विद्यार्थीको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि विभिन्न आरोप लगाउँदै विश्वविद्यालय परिसरमा दुव्र्यवहार गरेका थिए ।
सो घटनापछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलनका कार्यक्रम गर्दै आएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी विद्यार्थीमाथि कारवाही कम भएको र विद्यार्थीले गल्ती महसुस नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ । प्रजातन्त्रवादी प्राध्यापकहरुले चैत २२ गतेदेखि विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक कार्यक्रम बन्द गराउँदै आएका छन् ।

