शनिबार, बैशाख ०८, २०८१

पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत । पर्वतमा चट्याङ लागेर एक जनाको मृत्यु भएकोे छ ।

जिल्लाको मोदी गाउँपालिका– ४ हलहलेमा हिजो साँझ परेको चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेपछि बेहोस पुनको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । साँझ खाना खाएर पिँडीमा बसिरहेको बेला घरमा परेको चट्याङ लागेर पुनको मृत्यु भएको मृतकका श्रीमान् प्रेम पुनले बताउनुभयो ।

मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याईएको छ । साँझ परेको वर्षा र असीनापानीले बालीनालीमा पनि क्षति पुगेको छ ।