अछाम । अछाममा विप्लव निकट नेकपाका सात जनाले पार्टी छाडेका छन् । उनीहरु सबै पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का हुन् ।
विप्लव समूह छाडेका सात जना मध्य ६ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र एकजना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
यसरी विप्लव समूह छोडेर अन्य पार्टीमा प्रवेश गर्नेहरुमा पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का प्रकाश रावल, भिमबहादुर नेपाली, मानबहादुर बिक, रामबहादुर बिक, नेत्र बिक, जगत बिक र मोहन बिक नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का दिपक धामी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । अछाम निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, प्रदेशसभा सदस्य अक्कल बहादुर रावल र कांग्रेसका जिल्ला सभापति भारत कुमार स्वारले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । यसबारे विप्लव निकट नेकपा कम्युनिष्ट पार्टीले भने कुनै प्रतिक्रिया दिएको छैन ।

