काभ्रे । स्थानीय तहको निर्वाचनसँगै सरकारले प्रदान गर्ने सेवा सुविधा गाउँसम्म आइपुग्ने अपेक्षा किसानहरुको थियो । तर निर्वाचन भएको दुई वर्ष बित्दा पनि गाउँमा कृषि प्राविधिक भेट्नै मुस्किल छ भने अनुदानका लागि वडाबाट सिफारिस लिन पनि हप्तौँ कुर्नुपर्ने भएपछि किसान समस्यामा छन् ।
काभ्रेको विकट क्षेत्र कोशिपारीमा कृषि फर्म सञ्चालन गरिरहनुभएका कृष्णप्रसाद चौलागाँईले स्थानीय सरकार आउनुअघि सोचेको र आइसकेपछिको तालमेल मिलेन । किसानका लागि आवश्यक पर्ने जनशक्ति र स्रोतसाधन नपाउँदा समस्या परेको उहाँको भनाइ छ ।
कृषि प्राविधक नपाउँदाको समस्या एकातिर छ भने भेट भए पनि उनीहरुले प्रयोग गर्ने प्राविधिक भाषा र कृषि सामग्रीका बारेमा व्याख्या गर्दा नेपालीभन्दा पनि प्रयोग गरिने अंग्रेजी भाषाले किसान अलमलमा पर्छन् । बनेपाका लक्ष्मण दाहाल किसानले बुझ्नेगरी नेपाली भाषामा प्राविधिकले जानकारी दिनुपर्ने बताउनुहुन्छ ।
गाउँमा मात्र हैन शहरी क्षेत्रमा पनि आवश्यक परेको बेलामा कृषि प्राविधिक सजिलै भेटिँदैनन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख मोगल प्रसाद शाह भने संरचना परिवर्तनसँगै आफूहरूको क्षेत्राधिकार भित्र नपर्ने भएकाले सम्बन्धित स्थानीय तहले यस बारे ध्यान दिनुपर्ने बताउनुहुन्छ ।
आवश्यक परेको बेलामा कृषि प्राविधिकको सामान्य सल्लाह, सुझावको अभावमा पनि आफूहरूले ठूलो क्षति ब्यहोर्नु परेको किसानको भनाइ छ । यसले किसानका लागि बनाएका योजना कार्यान्वयन प्रभावकारी नहुँदा सरकारलाई नै घाटा भइरहेको छ ।

