शनिबार, बैशाख ०८, २०८१

स्तनपान कक्ष स्थापना भएपछि महिलाहरुलाई सजिलो

हेटौडा । हेटौडाको खानेपानी व्यवस्थापन बोर्डमा स्तनपान कक्ष स्थापना भएपछि महिलाहरुलाई सजिलो भएको छ ।

खानेपानी व्यवस्थापन बोर्डमा स्तनपान कक्ष स्थापना भएपछि कार्यालयका कर्मचारीलाई त सजिलो भएको छ नै वरपरका महिलाहरुलाई पनि सजिलो भएको छ । कार्यालयका कर्मचारी संगीता गुम्बा महिला वा पुरुष अन्य धेरै व्यक्ति भएको ठाउँमा बच्चालाई दुध चुसाउन अप्ठ्यारो हुने बताउँदै स्तनपान कक्ष भएपछि सजिलो भएको बताउनुहुन्छ ।

हेटौडा २ का पुजा लामाको चिया खाजाको पसल छ । पसलमा ग्राहक आउने जाने भइरहन्छन् । डेढ वर्षकी छोरीलाई स्तनपान गराउन असजिलो हुन्छ । नजिकैको खानेपानी व्यवस्थापन बोर्डमा रहेको स्तनपान कक्षमा पुगेर उहाँले स्तनपान गराउने गर्नुभएको छ ।

कार्यालयमा काम गर्ने महिला कर्मचारी तथा काम विशेषले कार्यालयमा बच्चासंगै आएका अन्य महिलाहरुलाई पनि सजिलो होस् भनेर स्तनपान कक्ष बनाईएको हेटौडा खानेपानी व्यवस्थापन बोर्ड कार्यालयका लेखापाल संजय न्यौपानेले बताउनुभयो ।

खाने पानी बोर्डले स्थापना गरेको स्तनपान कक्ष प्रभावकारी भएको देखेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा स्तनपान कक्ष निर्माण प्रक्रिया अगाडी बढेको छ । जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत विनयकुमार श्रीवास्तव टेन्डर आह्वान गरिएको र छिट्टै निर्माण कार्य सुरु हुने बताउनुहुन्छ । सरकारी तथा गैह्र सरकारी सबै सस्थामा यस्ता खालका स्तनपान कक्ष भए सजिलो हुने महिलाहरु बताउछन् ।