काठमाडौँ । नेपालमा ब्रेल लिपी भित्र्याउन महत्वपूर्ण योगदान दिने जङ्बहादुर बोगटीको ७९ औँ जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले दृष्टिविहीनलाई आत्मनिर्भर बनाउन हरेक कार्यालयमा हुने प्रमुख साइनबोर्डमा ब्रेल लिपीको सङ्केत राख्नुपर्नेमा सरोकारवालाको ध्यानाकर्षण गरेका छन् ।
त्यस्तै कार्यालयको विभागहरु, शौचालयजस्ता महत्वपूर्ण क्षेत्रमा पनि ब्रेल लिपीको सङ्केत राखिदिएको अवस्थामा आफू आत्मनिर्भर हुने र अरुको सहयोगको भर पर्ने अवस्थाबाट मुक्त हुने बताइयो । सन् १८२४ मा फ्रान्सका दृष्टिविहीन लुइस बे्रलले ब्रेल लिपीको आविष्कार गरेपछि विश्वका लाखाँै दृष्टिविहीनले पनि शिक्षाआर्जन गर्ने अवसर पाएका थिए । यस अघिसम्म दृष्टिविहीनले केही पनि काम गर्न सक्दैन भन्ने आम धारणा थियो ।
भारतमा दृष्टिविहीनले पनि शिक्षाआर्जन गरी जागीर खाएर आत्मनिर्भर भई काम गरेको सुनेपछि नेपालका जङ्गबहादुर बोगटीले महीनौँ दिन लगाएर भारतमा गई तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुलाई भेटी नेपालमा ब्रेललिपी भित्र्याएका थिए । यही सम्झनामा नेत्रहीन युवा सङ्घ नेपालले आज जङ्बहादुर बोगटीको ७९ औँ जयन्तीको अवसरमा ब्रेल लिपीको महत्ववारे छलफल कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा नेत्रहीन युवा सङ्घ अध्यक्ष कलाधर भण्डारीले दृष्टिविहीनहरुलाई आत्मनिर्भर गर्न हरेक सरकारी कार्यालयको साइनबोर्डमा ब्रेल लिपिको सङ्केत राख्नुपर्ने बताए । उनले दृष्टिविहीनको बेरोजगार समस्या समाधान गर्न देशव्यापी रुपमा अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरे । शिक्षा मन्त्रालयका शाखा अधिकृत दृष्टिविहीन दीपक माझीले नेपालमा कूल दुई लाख दृष्टिविहीन भएको र उनीहरुलाई शिक्षा दिने शिक्षकको सङ्ख्या ३०० रहेको बताए ।
कार्यपत्र प्रस्तोता जय लम्सालले ब्रेल दृष्टिविहीनको पहिचान भएको र यसबाट नै आफ्नो कुरा अभिव्यक्त गरिने भएकाले नयाँ प्रविधिसँगै बे्रललाई बिर्सन नहुने बताए । टिप्पणीकार डा वीरेन्द्रराज पोखरेलले ब्रेल लिपीलाई संरक्षण गर्दै वैज्ञानिक रुपमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । ललितपुर जिल्ला शिक्षा समन्वय समितिका सदस्य गुणराज पोखरेलले लुइस ब्रेल जन्मनुभन्दा अघिसम्म फ्रान्समा दृष्टिविहीनका लागि पढ्ने विद्यायल नभएको बताए । कार्यक्रममा दृष्टिविहीनलाई लेखन सहयोगी गर्ने ३१ सहयोगीलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

