काठमाडौं । लामो समयदेखि सरकारका काम कारबाहीप्रति असन्तुष्ट जनाएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अन्ततः सरकार विरुद्ध आन्दोलन गर्ने नेता तथा कार्यकर्तालाई आव्हान गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा÷विद्यार्थीहरुलाई आह्वान गरेका हुन्। केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे।
शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारी समेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे।
प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएकोमा पनि सभापति देउवाको आपत्ति छ।
सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

