शनिबार, बैशाख ०८, २०८१

माछा मार्ने पेशा संकटमा परेपछि सल्यानका वादी समुदायलाई जीविकोपार्जन असजिलो

सल्यान । भेरी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आइरहेका सल्यानका वादी समुदायको पेशा संकटमा पर्दै गएको छ ।

आधुनिकतासँगै अन्य जातीहरुले पनि माछा मार्न थालेपछि माछा मारेर जीविकोपार्जन गर्दै आइरहेका वादी समुदायको पेशा संकटमा पर्दै जानथालेको हो ।नदीको पानीलाई जीविकोपार्जनको मुख्य माध्यमका रुपमा प्रयोग गर्दै आइ रहेका वादी समुदाय पेशा संकटमा परेपछि रनभुल्ल परेका छन् ।

भेरी नदी लगायतका अन्य खोलाहरुमा अन्यजातिहरुले पनि माछा मार्ने तथा साना खोलाहरुमा विष हाल्ने, करेन्ट लगाउने गर्दा आफूहरुको पेशा संकटमा  परेको बन्गाड कुपिन्डे नगरपालिका वडा न २ झ्यामटाकुराका चैते वादीले बताउनु भयो ।

दिनमा एक जनाले पाँच देखि १० किलोसम्म माछा मार्ने गरे पनि चार महिना माछा मारेर भएको आम्दानीले बाँकी आठ महिना परिवार पाल्न निकै समस्या हुने गरेको वादीको भनाई छ ।