शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा आजदेखि सुरु हुँदै

काठमाडौ । आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन् । आठौँ राष्ट्रिय खेलकुद्को औपचारिक उदघाटन आगामी बैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार आजबाट नै सुरु हुन लागेको हो ।

दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । महिला हक्की भने नेपालगञ्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि मात्र सुरु हुनेछ ।

उदघाटन अघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । आज हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गल्फ उद्घाटन पूर्व  सकिनेछ । आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् ।

बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ । स्क्वासमा प्रदेश १, २, ३, ४, ५, नेपाल प्रहरी र एपीएफ क्लबबाट २४ पुरुष र ५ महिला गरी २९ खेलाडीको सहभागिता रहनेछ । पुरुषः महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता बैशाख २ गते सम्पन्न हुनेछ । हक्कीको पुरुषमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित ९ टिमले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । फाइनल बैशाख ४ गते हुनेछ ।

महिला हक्की भने चैत ३० गतेदेखि नेपालगन्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी ६ टिमले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरुमा प्रदेश १, २, ३, ४ र ७ तथा आर्मी छन् । सातौं राष्ट्रिय खेलकुद्मा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल बैशाख ५ गते हुनेछ । बुटवलमा हुने लनटेनिसमा प्रदेश ३, ४, ५, आर्मी, एपीएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमहिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ ।

चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा एनआरएनएबाट ३ पुरुष खेलाडी संरक्षकभूषण वज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा (थाइल्यान्ड) ले प्रतिस्पर्धा गर्ने छन् । कुस्तीमा पुरुषमहिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय (आर्मी र प्रहरी) गरी ९ टिमले भाग लिने छन् । टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय (आर्मी, प्रहरी र एपीएफ) बाट १ सय २० खेलाडीले प्रतिस्पर्धा  गर्नेछन् ।

पुरुषमहिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धा समावेश छन् । आठौँ राष्ट्रिय खेलकुद्मा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुनेछन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछन् । बृहत राष्ट्रिय खेलकुदको पहिलो, दोस्रो र तेस्रो संस्करण बाहेक दुई वर्षको अन्तरालमा पहिलो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो ।