मङ्गलबार, चैत ०६, २०८०

डाक्टरको आन्दोलन जारी, बिरामीलाई हदैको सास्ती, सरकार किन वार्ता गर्दैन ?

काठमाडौ । सरकारी चिकित्सकले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेर आन्दोलन गरेपछि देशभरका बिरामी अप्ठ्यारोमा परेका छन् ।

समायोजनमा असन्तुष्टि जनाउँदै डाक्टरहरु ६ दिनदेखि आन्दोलनमा छन् । समस्या समाधानको लागि खास पहल भने हुन सकेको छैन । आफूहरु जुनसुकै बेला पनि वार्ताका लागि तयार रहेको सरकारी चिकित्सक संघले बताइरहँदा रहकारले भने वार्ता हुन नसक्ने भनेको छ ।

हिजो सरकारले डाक्टरहरु काममा नफर्किए कारबाही गर्ने चेतावनी समेत दिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिरामीको उपचारलाई प्राथमिकतामा राख्न अनुरोध समेत गर्नुभएको छ ।

सबैलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित शुक्रबारदेखि सरकारी चिकित्सकहरू देशव्यापी रूपमा आन्दोलित भएका हुन् । चिकित्सकहरूको छाता संगठन, नेपाल चिकित्सक संघले मंगलबार सरकारी चिकित्सकको समस्याबारे उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग छलफल गरे पनि निष्कर्ष निस्कन सकेको थिएन ।

चिकित्सक संघका पदाधिकारीले समस्या समाधान नखोजी कारबाहीमा गए सबै चिकित्सक आन्दोलित हुने चेतावनी दिएका छन् ।