शनिबार, बैशाख ०८, २०८१

जनताको राय सुझाव लिन सांसद गाउँ गाउँमा

काठमाडौ । आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटमा विकास योजना पार्नका लागि नेकपाका सांसद अहिले जनताको राय सुझाव लिन आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । जनता के चाहन्छन्, बजेटमा के कस्ता विकास योजना समावेश गर्नुपर्छ भनी सुझाव लिनका लागि सांसदहरु आ–आफ्नो क्षेत्रमा पुगेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चैत ११ गते बसेको संसदीय दलको बैठकले पार्टीका सांसदलाई आ–आफ्नो क्षेत्रमा गएर आगामी बजेटमा राख्नुपर्ने योजनाको छनोट गर्न निर्देशन दिएको थियो । साथै सरकारले गरेका कामको जानकारी जनतालाई गराउन पनि पार्टीले निर्देशन दिएको थियो ।

सोही अनुसार अहिले सांसदहरू कोही आफ्नो क्षेत्रमा छन् भने कोही जाने क्रममा छन् । चैत १० गते हिउँदे अधिवेशन सकिएपछि सांसदहरू आफ्ना निर्वाचन क्षेत्रमा गएर जनतासँग राय सुझाव लिँदा अधिकांशले विकास निर्माणसँग सम्बन्धित सुझाव दिएका छन् । सडक, यातायात, नदी नियन्त्रण, बिजुली, खानेपानी, सिँचाइलगायतका मागहरू हुने गरेका छन् ।  गोरखापत्र दैनिकमा खबर छ।