बुधबार, बैशाख १६, २०८३

वर्षाकै झल्को दिँदै प्रि–मनसुन सक्रिय

काठमाडौं।क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ ।

हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा भइरहेको छ । स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको प्रभावले हिजोआज प्रि–मनसुन निकै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्। ‘सामान्यतया स्थानीय वायुको प्रभावले प्रि–मनसुन सक्रिय र निस्क्रिय हुन्छ’, उनले भनिन्– ‘यसपटक बंगालको खाडी र अरब सागरबाट पनि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा सजिलै नेपाल प्रवेश गरिरहेकाले प्रि–मनसुन सक्रिय भइरहेको छ।’

नेपालभित्रै विकास भएको न्यून चापीय रेखाले शनिबार बिहान सबेरैदेखि मुलुकका अधिकांश भेगको मौसम प्रभावित भएको कँडेलले बताइन्। उच्च वायुमण्डलमा रहने यस्तो रेखाले जलवाष्पयुक्त हावालाई सहजै वायुमण्डलमा पु¥याएर पानी पार्ने प्रकृतिको बादल बन्न सहयोग पु¥याउँछ । त्यस्तो प्रभावले फराकिलो भूगोललाई समेट्ने प्रकृतिको भएमा ‘रेखा’ र सीमित क्षेत्रमा प्रभाव पार्ने प्रकृतिको भएमा ‘क्षेत्र’ भन्ने गरिन्छ । शनिबार न्यून चापीय रेखाको प्रत्यक्ष प्रभाव मुलुकको पूर्वी, मध्यभागमा परेको थियो भने अपरान्ह्रपछि पश्चिमी भू–भागतर्फ पनि सरेको थियो ।

मौसमविद्हरु अंग्रेजी महिनाका मार्च, अप्रिल र मेलाई प्रि–मनसुनका रुपमा बुझ्ने गर्छन् । हिजोआज प्रि–मनसुन सक्रिय भए पनि गत मार्च महिनामा वर्षाको मात्रा औसतका हाराहारीमा रहेको मौसमविद् कँडेलले बताइन्। ‘यसपटक मार्चमा पनि प्रि–मनसुन केही सक्रिय नै थियो, ताप्लेजुङ, विराटनगर, काठमाडौं, पोखरालगायतको स्थानलाई नियाल्दा औसत वर्षा नाघेको छैन’, उनले भनिन्– ‘अप्रिलमा भने औसत वर्षा नाघ्ने सम्भावना बलियो छ ।’

महाशाखाका अनुसार हल्का र क्षणिक वर्षा अझै केही दिन जारी रहनेछ । पश्चिमी वायुको प्रभावले आज आइतवार पश्चिमी भेगमा छुट्टै न्यून चापीय रेखा विकास हुने र अन्यत्रको तुलनामा पश्चिमी भेगमा वर्षासहित मौसम प्रभावित बन्ने महाशाखाले जनाएको छ । अंग्रेजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बर नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो । आगामी मनसुन कस्तो हुन्छ भन्ने पूर्वानुमान भने मनसुन शुरु हुनुभन्दा करिव एक महिना अघि गर्ने प्रचलन छ ।

नेपाल सहित दक्षिण एसियाली मौसमविद्हरुको साझा फोरम (सास्कोप) ले मनसुनको भविष्यवाणी गर्दै आएको छ । आगामी वैशाख दोस्रो साता काठमाडौंमा हुने सास्कोपको ३ दिने जमघटले यसवर्षको मनसुनको पूर्वानुमान गर्नेछ । हरेक वर्ष एक अर्को मुलुकमा हुँदै आएको सास्कोप जमघटमा विश्व मौसम संगठन र अन्य युरोपेली मुलुकका विज्ञसमेत सहभागी रहने गर्छन्।