बुधबार, बैशाख १६, २०८३

त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा रेक्टरका पतिको विदेश भ्रमण

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (ईक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रह्मलुट हुने गरेको पाइएको छ।

उक्त रकम शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्य खुलेको हो। त्रिपाठीलेले आफ्ना श्रीमान् प्राडा रमेशप्रसाद भट्टराईलाई विज्ञ बनाएर परियोजनाका हरेक भ्रमणमा सँंगै लैजाने गरेपछि त्रिविभित्रै आक्रोश बढेको छ।

परियोजनाको प्रमुख रेक्टर त्रिपाठीले परियोजनाले अहिलेसम्म कसकसलाई विदेश पठाएको छ भन्ने अधिकांश विषय गोप्य राख्ने गरेकी छिन्। सो परियोजनाअन्तर्गत विदेश भ्रमण जाँदा त्रिविलाई आर्थिक भार नपर्ने उल्लेख गरी बिदा स्वीकृत भए पनि उनले दोहोरो सुविधा लिने गरेको समाचार स्रोतको दाबी छ। स्रो

तका अनुसार रेक्टर त्रिपाठीले पति भट्टराईलाई ग्रिस, चेन्नाई, इटाली, स्पेन, चीन, अमेरिकालगायतको भ्रमणमा लैजाँदा परियोजनाको रकम खर्च गरेकी छिन्। चेन्नाई, इटालीलगायत मुलुक भ्रमणमा रेक्टर त्रिपाठी पतिसँगै पुगेकी छिन्। भट्टराईले विभिन्न मुलुक भ्रमण गर्दा १० लाख रुपैयाँभन्दा बढी एड्भान्स रकम लिएका छन्।

अधिकांशले थोरैमा १ लाखदेखि २ लाख रुपैयाँसमेत एडभान्स लिएका छन्। परियोजनामा करिब ३२ हजार युरो अर्थात् करिब ३५ लाख रुपैयाँ रकम आएको थियो। तीमध्ये करिब २९ लाख रुपियाँ भ्रमणमै सकिएको छ। विदेश गएपछि बिल पेस गरी रकम लिनुपर्ने प्रावधानलाई लत्याउँदै उनले एड्भान्सको रूपमा रकम लिने गरेका छन्। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।