बेसीशहर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कसैले गित गाउँदैमा राजतन्त्र नर्फकने चेतावनी दिएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा शुरु भएको १२ औँ राष्ट्रिय बुद्ध सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले राजतन्त्रले कोल्टे फेर्ने सपना नदेख्न केहि तत्वहरुलाई आग्रह समेत गरे ।
मुख्यमन्त्री गुरुले शान्ति विकासको पहिलो सर्त भएको बताए । धर्ममा एकता आवश्यक रहेको तर्क गर्दै उनले धर्मले नै मुलुकमा मित्रता र मैत्रीभाव कायम राख्ने उल्लेख गरे ।
धर्मोदय सभा केन्द्रीय कार्यलय र धर्मोदय सभा जिल्ला शाखा लमजुङको संयुक्त आयोजनामा शनिबार सम्मेलन शुरु गरिएको हो । सम्मेलनमा ६५ जिल्लाका प्रतिनिधीले सहभागीता जनाएका छन् । धर्मादय सभाको नियमित कार्यक्रम अन्र्तगत प्रत्येक २ वर्षमा विभिन्न जिल्लामा गरिदै आएको राष्ट्रिय बुद्ध सम्मेलन यो वर्ष लमजुङमा गरिएको हो । पहाडी जिल्लामा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय सम्मेलनले धार्मिक पर्यटन अभिवृद्धिको लागि सहयोग पुग्ने आयोजकको विश्वास छ ।
सम्मेलनमा शान्ति पद यात्रा, बुद्धको सरोकार र भुमिकाबारे कार्यशाला गोष्ठी, घोषणा पत्र जारी, बुद्धको अस्तु धातुको दर्शन, प्रवचन, शान्ति दिप पदयात्रालगायत विविध साँस्कृतिक कार्यक्रमसमेत गरीने भएको छ ।
शान्ति र अहिंसाको प्रतिक गौतम बुद्धबारे धेरै नेपालीलाईसमेत ज्ञान नभएको हुँदा राष्ट्रिय रुपमा बुद्ध सम्मेलन गर्न आवश्यक रहेकाले सम्मेलन गरिएको आयोजकको दावी छ । सम्मेलन तीन दिनसम्म चल्नेछ ।

