बुधबार, बैशाख १६, २०८३

फोन गर्न दुई घण्टा हिँड्नुर्पे बाध्यता

बझाङ । बैतडीको सिगास गाउँपालिकाबासी र डोटीको आदर्श गाउँपालिकाका केही वडाबासीलाई फोन गर्न २ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको छ ।

सिगास गाउँपालिका भित्रका लेकमबस्ती, मौरीबगर, बोरी र आदर्श गाउँपालिकाका सेती नदी किनारका बासिन्दाहरुले फोन गर्न घण्टौं लगाएर अग्लो डाँडामा धाउनु परेको हो ।

सयौं घरधुरी रहेको लेकमबस्ती, मौरीबगरका बासिन्दाहरु अरुले इन्टरनेट प्रविधिले गाउँसहर छाउँदासमेत आफूहरुले फोन गर्न घण्टौं धाउनुपरेको तितो अनुभव सुनाउँछन् ।

घर आँगनमा फोन नलाग्ने हुँदा विरामी पर्दा, अत्यावश्यक फोन गर्नु पर्दा टाढा जानुपर्ने बाध्यता रहेको सिगास गाउँपालिका मौरीबगरका  तुल्सी साउँद बताउनुहुन्छ । उहाँका अनुसार फोन सुविधा नहुँदा कैयौंले विरामी बोक्ने मान्छे नपाएर ज्यान गुमाउनु परेको छ ।

फोन गर्नैका लागि स्थानीय अग्लाअग्ला ठाउँ थलाकाँडा, नुवाघर, गर्जे, लेकलुपोण बझाङको देउरा लगायतका ठाउँमा पुग्ने गर्दछन् । सिगास गाउँपालिकाका अध्यक्ष हर्क धामीले भने वडा नम्बर १ र २ मा टावर निर्माण भइसकेको र अब छिट्टै सुचारु हुने बताउनुभयो ।

डोटीको आदर्श र सायल गाउँपालिकामा पनि केही वडामा फोन नलाग्ने समस्या हुँदा डाँडातिर लाग्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।