बुधबार, बैशाख १६, २०८३

वर्खा नलाग्दै कर्णाली राजमार्गमा पहिरो शुरु

कालिकोट । वर्खा नलाग्दै कर्णाली राजमार्गमा फेरि पहिरो सुरु भएको छ । वर्खाको समयमा पहिरोले हैरान गराउने राजमार्गमा वर्खा नलाग्दै ठाँउठाँउमा पहिरो झर्न सुरु भएको हो ।

हिजो बेलुकीबाट परेको पानीका कारण कालिकोटको गगने खोलामा आएको पहिरोले कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोका कारण काठमाडौँ, नेपालगंज, सुर्खेतदेखि आउने र कालिकोटबाट बाहिर जाने सवारी साधन ठप्प भएका छन् ।

करिव छ सय मिटर बढी सडकमा गएको पहिरोले सदरमुकाम आउने जाने सवारी साधन र मानिस तथा पशु चौपयालाई समेत प्रभावित पारेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

हिजो वुलेकादेखि आवत, जावत बन्द भएपछि खाडाचक्र नगरपालिकाले पहिरो हटाउन नेतृत्वमा दैलेख आठविस नगरपालिकासंग आग्रह गरी स्काईभेटर मार्फत पहिरो हटाउने काम भइरहेको नगर उप प्रमुख विजया विस्टले बताउनुभयो ।