धनकुटा । संखुवासभा प्रशासनले कार्यक्रम संचालनमा रोक लगाएपछि अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवका लागि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले हिडेका एकसय बढी देशका करिब एकहजार दुई सय नागरिक सुनसरी, धनकुटा र तेह्रथुममा अलपत्र परेका छन् ।
काठमाण्डौंको शक्तिपिक म्यूजिक फेस्टिवल प्रालिले संखुवासभाको मादी नगरपालिका स्थित चौकि डाँडामा चैत्र २२ गते देखि २७ गते सम्म आयोजना गर्न लागेको अन्तराष्ट्रिय साँस्कृतिक महोत्सवमा लागुपदार्थको प्रयोग, अश्लिल गतिबिधि र खुल्ला यौन ब्यवहार हुने भन्दै स्थानीय प्रशासनले रोक लगाएको थियो ।
प्रशासनको प्रतिबन्धपछि उक्त कार्यक्रमका लागि हिडेका एकहजार दुई सय बढी विदेशी नागरिक धरान, भेडेटार, मुलघाट, धनकुटा, हिले, सिंधुवा र बसन्तपुरका विभिन्न होटलमा तथा खाली ठाउँमा टेन्ट टाँगेर बसेको कार्यक्रम संयोजक सुवास केसीले बताउनुभयो ।
स्थानीय तहको स्वीकृति पछि कार्यक्रम गर्न लागिएको आयोजकको दावी छ । अघिल्लो बर्ष पनि सोही संस्थाले तीनजुरे मिल्के जलजले क्षेत्रमा यस्तै सांस्कृतिक महोत्सव गरेको थियो ।


