विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा विभिन्न सात वटा विषयगत समितिको निर्वाचन आज सम्पन्न भएको छ ।
न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिको सभापतिमा अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनरायण गनगाइँ, सामाजिक विकास समितिको सभापतिमा सरिता थापा, उद्योग, पर्यटन वन तथा वातावरण समितिको सभापतिमा सीता थेवे र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा सर्वध्वज साँवा निर्वाचित भएको प्रदेशसभा सचिवालयका सचिव अम्बिका चौलागाईंले जानकारी दिइन् । समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १३४(१) बमोजिम प्रदेश नं १ को प्रदेशसभाको विषयगत समितिको सभापतिको निर्वाचन यही चैत २२ गते शुक्रबार गर्ने गरी सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको तेस्रो अधिवेशनको २२ औँ बैठकमा निर्वाचन मिति निर्धारण गरेका थिए ।

