सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको निमार्णाधिन मध्यभोटेकोशी जलबिद्युत आयोजनाको काम अत्यन्त सुस्त भएपछि स्थानीय तहका जनप्रतिनिधिले काम छिटो सक्न दबाब दिएका छन् ।
भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भईरहेको १ सय २ मेघावाट क्षमताको मध्यभोटेकोशी जलबिद्युत आयोजनाको सन् २०१३ मा निर्माण कार्य सुरु भएको थियो । सन् २०१६ सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिईएको यो आयोजनाको अहिलेसम्म पचास प्रतिशत पनि काम सम्पन्न भएको छैन ।
स्थानीय जनताको शेयर पनि रहेको यो आयोजना निर्माणमा ढिलाई हुँदा मर्का परेको भन्दै स्थानीय तहको ध्यानाकर्षण भएको भोटोकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो । उहाँले एक बिज्ञप्ति जारी गर्दै जनताको सम्पत्तिले निर्माण हुने यस्ता आयोजना बन्न ढिलो हुँदा स्थानीयवासीको लगानी जोखिममा परेको बताउनुभयो ।

