Nepali date


शुक्रबार, साउन ३, २०७६

नेपाल अल्पविकसितको सूचीबाट चाँडै हटाउछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पन्ध्रौँ आवधिक योजना अवधिमा नेपाल अल्पविकसितको सूचीबाट हटेर विकसित मुलुकमा स्तरोन्नतिका लागि आधार तयार हुने बताएका छन् ।
राष्ट्रिय विकास परिषद्को दुई दिने बैठकको आज यहाँ समापन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतासँगै सरकार तीव्र आर्थिक विकासको प्रक्रियामा अघि बढेको बताए ।
परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘पन्ध्रौँ योजनाले देशको अवस्था परिवर्तन र पहिचानलाई बदल्नुपर्छ, त्यसका लागि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, सुशासन,पूर्वाधार विकास, मानव सूचकाङ्क आदि विषयमा ठोस प्रगति हासिल गरेर अल्पविकसितबाट विकासित मुलुकमा परिणत गर्ने आयोजनाको अघिल्लो अवधिमै हुनुपर्छ ।

उनले आधारपत्रमा सरोकारवालाबाट आएका सुझावलाई समेटेर योजना आयोगले अन्तिम रुप दिने र त्यसलाई मन्त्रिपरिषद्बाट पारित गरिने बताए । राष्ट्रिय योजना आयोगले तयार गरेको पन्ध्रौं योजना आगामी आवबाट कार्यान्वयनमा ल्याइनेछ । योजनाको आधारमा दीर्घकालीन सोचसहितका २५ वर्षे रणनीति बनाइने छ । योजनाले भौतिक पूर्वाधार, सामाजिक सुधार, सुशासन, ऊर्जा, कृषि, पर्यटन आदि विषयलाई प्राथमिकता दिएको छ ।प्रधानमन्त्री ओलीले पन्ध्रौँ पञ्चवर्षीय योजनाका रुपमा भन्दा पनि रुपान्तरित अवस्थाको प्रथम सङ्घीय योजनाका रुपमा व्याख्या गरिनुपर्ने बताए ।

पन्ध्रौं जनाअवधिमा समग्र राष्ट्रिय उत्पादन कम्तीमा ५० प्रतिशत वृद्धि हुनुपर्छ भन्दै उनले सोही जगमा अर्को पञ्चवर्षीय योजना अघि बढ्ने र त्यसले मुलुकको आर्थिक उन्नतिलाई गति दिने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले भने, ‘विकासलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्छ । अहिलेको संयन्त्र अलि खर्चालु छ, त्यसैले आर्थिक मितव्ययीता बढाउनुपर्छ, खाइरहेका सेवा लिइरहेकोभन्दा पनि खान नपाउने र सेवाबाट बञ्चितलाई पहिला ध्यान दिनुपर्नेछ । कम लगानी कम खर्चमा बढी उत्पादन र आम्दानी हुनेगरी हाम्रा प्रयास अघि बढाउनुपर्ने जरुरी छ ।

उनले परनिर्भरताले देशको अर्थतन्त्रलाई कमजोर तुल्याएको बताउँदै ऊर्जा उत्पादन बढाएर आयात प्रतिस्थापनको बाटोमा जानुको विकल्प नभएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले वातावरण संरक्षणका लागि नवीकरणलीय ऊर्जा र हरित ग्यासको खपतमा जानैपर्छ भन्दै विकासको सन्दर्भमा पर्यावरणको चासोप्रति सजक हुनुपर्नेमा जोड दिए । शान्ति प्रवद्र्धन र वातावरण संरक्षणको विषयमा नेपालले विश्वलाई नेतृत्वदायी सन्देश दिनसक्ने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सङ्घीय प्रणालीले प्रधानमन्त्रीलाई शक्तिशाली बनाएको भएपनि आफूमा शक्तिको कुनै सोख नभएको उल्लेख गरे । ‘कतिपयले प्रधानमन्त्रीले पावर केन्द्रित गरे भन्नुहुन्छ, अहिलेको सङ्घीय प्रणालीमा प्रधानमन्त्रीलाई जनताले ‘पावरफुल’ बनाएका छन् तर प्रधानमन्त्रीलाई पावरको कुनै सोख छैन केवल देशको विकास, जनताको परिवर्तनको सोख छ अनि त्यसका निम्ति ‘भिजन’ र सोच पनि छ’, उनले भने । रासस

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया